काठमाडौँ:असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याइएको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो ।
तुलसीपुर–२ भमकेका ११ वर्षीय बालक घनश्याम पाठकलाई घरको कोठामा सुतिरहेको अवस्थामा असार ६ गते राति सर्पले टोक्यो । सर्पले टोक्नेबित्तिकै घनश्यामले हजुरआमालाई जानकारी गराए ।
घरभित्र कसरी सर्प आयो होला भनेर हजुरआमालाई विश्वास लागेन । त्यसपछि बत्ती बालेर ओढिराखेको कम्बल फाल्दा सर्प बालकको कम्मरमा बेरिएको थियो । तत्काल उनलाई मोटरसाइकलमा चढाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइयो ।