काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गर्नुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको हो । पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गर्नुभएको हो । जसपा, नेपालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधहरुलाई हटाउन समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन आवश्यक रहेको बताउनु भयो । एकतावद्ध भएर अघि बढ्ने हो भने कुनैपनि चुनौतिको सामना गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ हामी एकतावद्ध भयौँ भने जुनसुकै चुनौतिको सामना गर्नसक्छौँ । हामी मिलेर अघि बढ्ने हो भने जस्तोसुकै कठिनाइलाई पार गर्नसक्छौँ । किनभने हिम्मत र बुलन्दीले नै सबैथोक प्राप्त गर्न सकिन्छ । जनता समाजवादी पार्टी, नेपाल चुनौतिको बीचमा छ । हामी सहयात्री हौँ, उपेन्द्रजी र हामी केही दिन अगाडीसम्म केन्द्र र प्रदेश सरकारमा सँगै थियौँ, समाजवादी मोर्चामा पनि सँगै काम ग¥यौं, विचार र मन मिलेको छ भने एकसाथ मिलेर अगाडी बढौँ, समाजवादको ध्येय पूरा गरौँ, जसरी उपेन्द्रज ले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेस आन्दोलनको अगुवाई गर्नुभयो त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरु समेत विचलित नभइ अघि बढ्नुपर्छ।’
उहाँले जसपा, नेपाल पछिल्लो समय चुनौतिको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरुलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।