काठमाडौं, साउन १३ — देशको वर्तमान जटिल परिस्थितिलाई सम्बोधन गर्न समाजवादी मोर्चा अब नयाँ ढंगबाट अघि बढ्ने तयारीमा छ। मंगलबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एस) पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मोर्चाको आगामी रणनीति स्पष्ट पारे।
प्रकाण्डका अनुसार अब मोर्चाले समाजवादी गणतान्त्रिक प्रणालीमा देशलाई अघि बढाउने उद्देश्यसहित आफ्नो गतिविधि पुनर्संरचना गर्ने निष्कर्ष निकालेको छ। उनले भने, “अहिले हामी यस्तो निष्कर्षमा पुगेका छौं— समाजवादी व्यवस्थातर्फ जान, समाजवादी गणतन्त्र निर्माण गर्न र मोर्चालाई मजबुत बनाउन अब नयाँ ढंगमा प्रस्तुत हुनैपर्छ। आफ्ना सीमाहरूको कठोर समीक्षा गरेर आफूलाई नयाँ उचाइमा पु¥याउनुपर्छ।”
प्रकाण्डले देशको समग्र अवस्था ‘जटिल’ बनेको उल्लेख गर्दै युवामाझ बढ्दो निराशा र विदेश पलायनलाई चिन्ताजनक बताए। उनले गणतन्त्रलाई चुनौती दिने प्रवृत्तिहरू बढिरहेको पनि औँल्याए।
“आज देशमा गणतन्त्रविरोधी गतिविधिहरू मौलाउँदै छन्। राज्य सञ्चालनको तरिका भयावह छ। युवाहरू निराश छन्, विदेशीने क्रम जारी छ। जनताको मनमा ‘देशको भविष्य के होला?’ भन्ने गहिरो प्रश्न उब्जिएको छ,” उनले प्रस्ट पारे।
बैठकमा सहभागी नेताहरूले मोर्चालाई सुदृढ बनाउने र समाजवादी शक्तिहरूलाई संगठित गर्दै देशमा वैकल्पिक राजनीतिक धारा निर्माण गर्ने विषयमा गम्भीर छलफल गरेका थिए।
अबको दिनमा समाजवादी मोर्चाले नारा मात्र होइन, व्यवहारमै परिवर्तन ल्याउने गरी नयाँ ढंगले जनसमक्ष जानुपर्ने नेताहरूको धारणा रहेको स्रोतले जनाएको छ।