काठमाडौं : उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । सन्दिप गडिया नामक उद्योगीले नियोसिया नामक नक्कली केवाइसी गाडी आयात तथा विक्री वितरण गर्दै आएका थिए । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,” अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ ।
यो निर्णयसँगै, अदालतको अघिल्लो आदेश उल्लङ्घन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी गाडी आयात नगर्न आदेश दिएको थियो । तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो ।
यो विवादमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो । अचम्मको कुरा के भने, दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए ।
भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो । यसरी कानुनी आदेशको उल्लङ्घन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो ।
केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए ।