काठमाडौँ : वसन्त ऋतुको सगरमाथा आरोहण सिजन प्रतिकूल मौसमका कारण प्रभावित भएको छ। सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालहरूमा तीव्र गतिको हावा र खराब मौसमका कारण आरोहण अस्थायी रूपमा रोकिएको छ। पर्यटन विभागका अनुसार, मे १५ तारिखमा तय गरिएको आरोहण योजना रद्द गरिएको छ, र मे १४ तारिखको योजना पनि रद्द हुने सम्भावना छ। अहिले आरोहीहरू सुरक्षित स्थलतर्फ फर्किरहेका छन्, र केही आरोहीहरू दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्।
विभागका निर्देशक हिमाल गौतमका अनुसार, सगरमाथामा तीव्र गतिको हावा बहेका कारण आज आरोहण हुन नसकेको खबर आएको छ। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार, मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ। मौसम खराबीका कारण अबको तीन-चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ।
हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ। कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ। मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरेका छन्। यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे। नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्।
वसन्त ऋतुको सगरमाथा आरोहण वैशाख २६ गतेदेखि सुरु भएको हो। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको ढोका खोलेका थिए। यस याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्।