संकट व्यवस्थापक नेपालमै उत्पादन हुँदै

काठमाडौँ: संकट व्यवस्थापनको लागि आवश्यक व्यवस्थापकीय जनशक्ति नेपालमा उत्पादन हुन थालेपछि प्रभावकारिता बढ्दै गएको छ ।

नेपालमा समर्पण एकेडेमीले विगत १० वर्षदेखि संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस एकेडेमीमा अध्ययन गरिसकेका विद्यार्थीहरुले नेपाल भित्र आइपर्ने संकटलाई व्यवस्थापन गर्दै आएका छन् । केही समय अगाडिसम्म संकट व्यवस्थापनको लागि विदेशी विज्ञको भर पर्नुपर्ने अवस्था थियो । त्यो अब बिस्तारै हट्दै गएको छ । पछिल्ला ५ वर्ष यता नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले आफ्ना अधिकृतहरुलाई संकट व्यवस्थापनको अध्ययन गर्न प्रोत्साहित गर्दै आएका छन् । आईतवार विभिन्न सेमेस्टारमा अध्ययन गरिरहेका विद्यार्थीबीच गरिएको प्रयोगात्मक अभ्यासको समापन समारोहमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले नेपाल धेरै प्रकारको विपद् र जोखिमले घेरिएर रहेकाले कुनैपनि बेला आइपर्ने संकटलाई व्यवस्थापन गर्न धेरै दक्ष र तालिमप्राप्त जनशक्ति आवश्यक रहेको बताउनु भयो । समर्पण एकेडेमीले उत्पादन गरेका प्रशिक्षित र दक्ष जनशक्तिले प्रभावशाली काम गर्नसक्ने बताउनु भयो । नेपालमा जलवायुजन्य विपद्को जोखिम कम गर्न पनि संकट व्यवस्थपकहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो कलेजको एकमात्र उद्देश्य एउटा प्रभावकारी क्राइसेस म्यानेजर उत्पादन गर्ने हो । त्यो साह्रै प्रभावकारी, प्रभावकारी मात्रै होइन । हामीले क्राइसिस म्यानेजर उत्पादन गर्नुपर्नेछ । दुई सय ४० जना यात्रुहरु बोकेको एउटा विमान अप्रत्याशित रुपमा असनको मध्यचोकमा खस्यो भने कसरी पार लगाउने भन्ने सम्पूर्ण ज्ञान भएको र आफूलाई एक्टिभेट गर्नसक्ने म्यानेजर हामीले उत्पादन गर्न खोजेको हो । अब निकट भविष्यमा के आउँदैछ भने बार्पाकदेखि पश्चिमतिरको भूखण्डमा ८.४ म्याग्नीच्युडको भूकम्प कुनैपनि बेला जानसक्छ भनिएको छ । हाम्रो क्राइसिस म्यानेजरहरु त्यो ठाउँमा काम गर्ने परिस्थिति जन्मिओस् । उसले त्यो खालको अवस्थालाई सहज रुपमा आफूलाई कमाण्डरको रुपमा उपस्थित गराउन सकोस् र त्यतिबेलाको खोज उद्धार प्रभावकारी बन्न सकोस् ।’

समर्पण एकेडेमीका अध्यक्ष सनद बस्नेतले बल प्रयोग गरेर व्यवस्थापन गरिने पद्धति बिस्तारै परिवर्तन हुन थालेको बताउनु भयो । संकट व्यवस्थापन नै पढेको जनशक्तिले गर्ने व्यवस्थापकीय कार्य गुणस्तरीय र प्रभावकारी हुने बताउनु भयो । संकट व्यवस्थापन कार्यलाई होसियारीपूर्वक सम्पादन गर्न नसके झनै ठूलो संकट निम्तिने भन्दै एकेडेमीबाट पास आउट भएका विद्यार्थीले गुणस्तरीय काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सधैँ परम्परामा हिँड्नु हुँदैन, कति गलत परम्परा छन्, त्यो परम्परा तोड्नुपर्छ । त्यो तपाईंहरुले तोड्ने हो । क्राइसिस आफैँमा क्राइसिस हो, डिजास्टर आफैँमा डिजास्टर हो । डिजास्टर भएको बेलामा मानिस जेनेरल्ली उ नर्मल हुँदैन । त्यस हुने बित्तिकै इन्फरमेस फ्लो पनि त्यस्तै हुनसक्छ । त्यो बेलामा होसियार हुनुपर्छ । मिडियाले समाज नै सेफ गर्दछ । समाजको आकार दिने नै मिडिया हो । मिडियाले समाजलाई के सोच्ने के नसोच्ने भन्नेबारेमा डो¥याउँछ । आजकाल त मिडियाको कारणले गर्दा ज्यादा सूचना भएर मान्छे डिप्रेशनमा जाने, ह्याण्डिल गर्न नसक्ने अवस्था छ । यो समस्या भन्दा एक स्तर माथि चढेर सोच्नुपर्छ ।’

समापन कार्यक्रममा संकट व्यवस्थापनको विभिन्न सेमेस्टारमा अध्ययन गरिरहेका विद्यार्थीहरुले संकट व्यवस्थापन र संकटमा मिडिया व्यवस्थापनको लागि गरिएको प्रयोगात्मक कक्षाले धेरै व्यवहारिक ज्ञान दिएको बताए । आफ्नो व्यवसायिक जीवनमा कहिल्यै नगरेको काम प्रयोगात्मक अभ्यासमा गर्न पाउँदा आफ्नो अध्ययन पूर्ण भएको प्रतिक्रिया दिए ।

Comments (0)
Add Comment