बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइिएको मृत्युदण्डको कडा विरोध गर्दै उनकी पार्टी अवामी लिगले नोभेम्बर ३० सम्म देशभर ‘प्रतिरोध मार्च’ र आन्दोलन चलाउने घोषणा गरेको छ।
नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिनालाई तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमलसँगै मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो।
हाल हसिना भारतमा बसेकी छन् भने गृहमन्त्री कमल देशभित्रै लुकेर रहेको विश्वास गरिएको छ।
अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत निर्णयको कडा आलोचना गर्दै यो मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसिना र उनकी पार्टीलाई आगामी फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर राख्ने’ उद्देश्यले गरिएको राजनीतिक षड्यन्त्र भएको आरोप लगाएको छ।
पार्टीले न्यायाधिकरणको फैसला अस्वीकार गर्दै यसलाई ‘अवैध’ घोषणा गरेको छ र प्रधानमन्त्री युनुसले राजीनामा दिनुपर्ने माग समेत गरेको छ।