शुक्रकीट र अण्डादानमा नयाँ मापदण्ड : अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले मात्र दान गर्न पाउने

काठमाडौं :  सरकारले पहिलोपटक शुक्रकीट (Sperm) र अण्डा (Egg) दानका लागि मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ अनुसार अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले मात्र अण्डा वा शुक्रकीट दान गर्न पाउनेछन्।

यसअघि १८ वर्षमुनिका किशोरीको अण्डा संकलन गरी व्यापारिक प्रयोजनमा प्रयोग भएको घटना बाहिरिएपछि सरकारले यस्तो संवेदनशील क्षेत्रमा कानुनी स्पष्टता ल्याएको हो। नयाँ मापदण्डले अब प्रलोभन वा दबाबमा पारेर शुक्रकीट वा अण्डाको कारोबार गर्न पाइने छैन।

मापदण्डअनुसार –

  • २०–३५ वर्ष उमेर समूहका व्यक्तिले तीन–तीन महिनाको फरकमा अधिकतम ६ पटकसम्म दान गर्न पाउनेछन्।

  • डोनरको स्वास्थ्य परीक्षण अनिवार्य हुनेछ र कुनै सरुवा रोग नभएको प्रमाणित गर्नुपर्नेछ।

  • विवाहित महिला वा पुरुषको अण्डा–शुक्रकीट प्रयोग गर्न दम्पती दुवैको लिखित मञ्जुरी लिनुपर्नेछ।

  • दाताको परिचय गोप्य राखिने व्यवस्था गरिएको छ।

यससँगै आईयूआई (Intrauterine Insemination) र आईभीएफ (In Vitro Fertilization) सेवा सञ्चालन गर्न मन्त्रालयबाट अनुमति लिनुपर्नेछ। सेवा प्रदायक संस्थामा दक्ष जनशक्ति, विशेष प्रयोगशाला, शल्यक्रिया कक्ष, आकस्मिक सघन उपचार कक्ष लगायतको पूर्वाधार अनिवार्य गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार नयाँ मापदण्डले निःसन्तान उपचार सेवा व्यवस्थित र विश्वसनीय हुने, ठगी वा दुरुपयोग रोकिने, र सेवाग्राही तथा दाताको अधिकार सुरक्षित हुने अपेक्षा गरिएको छ।

Comments (0)
Add Comment