काठमाडौं : नेपालमा शिक्षाको स्तर जति उच्च हुँदै गएको छ, बेरोजगारी दर पनि त्यत्तिकै बढ्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ। स्नातक र स्नातकोत्तर तहसम्म पढेका युवाहरूको बेरोजगारी दर सामान्य पढेलेखेका वा अशिक्षितभन्दा बढी रहेको तथ्यांकले पुष्टि गरेको छ।
स्नातक तह उत्तीर्ण गरेका ६.२ प्रतिशत व्यक्ति बेरोजगार छन्, जसमा महिलाको हिस्सा ८.१ प्रतिशत र पुरुषको ५.१ प्रतिशत छ। यस्तै, प्लस टु पास गरेका ६.५ प्रतिशत बेरोजगार छन् भने अशिक्षितमध्ये मात्र ३.६ प्रतिशत बेरोजगार देखिएका छन्।
सहरमा बेरोजगारी बढी
सहरी क्षेत्रमा बेरोजगारी दर ५.६ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा ४.१ प्रतिशत मात्रै छ। साथै, आर्थिक रूपमा सम्पन्न घरपरिवारका व्यक्तिहरूमा पनि बेरोजगारी दर विपन्न वर्गको तुलनामा बढी देखिएको छ। विपन्न वर्गमा ६९.३ प्रतिशत रोजगार छन् भने सम्पन्न वर्गमा ५८.६ प्रतिशत मात्रै रोजगार छन्।
श्रमशक्ति संलग्नता र विभाजन
२०७८ सालको जनगणना अनुसार नेपालमा १ करोड ५७ लाख (६५.५%) जनसंख्या आर्थिक रूपमा सक्रिय छन्। कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख महिला छन्।
श्रमशक्ति सहभागितामा कर्णाली प्रदेश अग्रस्थानमा (७१.१%) छ भने मधेस प्रदेशमा सबैभन्दा कम (५७.२%) रहेको छ।
असुरक्षित रोजगारीको अवस्था
नेपालमा झण्डै ७० प्रतिशत श्रमशक्ति असुरक्षित रोजगारीमा छन्। कर्णाली प्रदेशमा यो दर ८४ प्रतिशत पुग्छ। अशिक्षिततर्फ ७३.५ प्रतिशत र शिक्षिततर्फ ७६.५ प्रतिशतले असुरक्षित रोजगारी गरिरहेका छन्।
प्राथमिक क्षेत्रमा ५७% संलग्नता
कृषि, वन र मत्स्यपालनजस्ता प्राथमिक क्षेत्रमा ५७.३ प्रतिशत श्रमिक संलग्न छन्। ग्रामीण क्षेत्रमा ७७.६ प्रतिशतले कृषि क्षेत्रमा काम गर्छन् भने सहरी क्षेत्रमा यो संख्या २४.२ प्रतिशत मात्रै छ।
बालश्रम र वृद्धको अवस्था
१०–१७ वर्ष उमेरका ३२.१ प्रतिशत बालबालिका श्रमशक्तिमा संलग्न छन्। कर्णालीमा यो संख्या ३९.५ प्रतिशतसम्म पुग्छ। उता, ६५ वर्षभन्दा माथिका वृद्धमध्ये करिब आधा अझै पनि जोखिमपूर्ण रोजगारीमा संलग्न छन्।
नीति र सुझाव
शिक्षित बेरोजगारी कम गर्नका लागि सीप विकास, औपचारिक रोजगारी सिर्जना, र श्रम बजारमा लैंगिक तथा भौगोलिक असमानता घटाउने नीति आवश्यक रहेको प्रतिवेदनमा सुझाव दिइएको छ। साथै, वृद्ध, महिला र बालबालिकाको श्रम सहभागितालाई सुरक्षित र सम्मानजनक बनाउन विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरिएको छ।