“शिक्षक महासंघको बैठक आज: के आन्दोलन स्थगित हुनेछ?”

काठमाडौँ : शिक्षा ऐन जारी गर्नेलगायत मागहरू राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले आज (शनिबार) बैठक बोलाएको छ। चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शनको नेतृत्व गर्दै आएको महासंघले आन्दोलन स्थगित गर्ने वा स्वरूप परिवर्तन गर्ने भन्ने निर्णय आजको बैठकपछि स्पष्ट हुनेछ।

 

 

शुक्रबार राति महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए। प्रधानमन्त्रीले शिक्षा ऐन जारी गर्ने प्रक्रिया अघि बढिरहेको भन्दै आन्दोलन स्थगन गरी विद्यालय फर्कन आग्रह गरेका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दिउँसो सवा ३ बजे रत्नराज्य मावि बानेश्वरमा बैठक बस्ने तय भएको छ।

महासंघले आह्वान गरेको बैठकमा राष्ट्रिय समितिका सदस्यहरू, सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूको सहभागिता रहनेछ। शिक्षकहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शैक्षिक मूल्य, मान्यता तथा पेसाकर्मीहरूको हक, हित र संरक्षण सुनिश्चित हुनुपर्ने माग राख्दै आएका छन्। साथै, संविधानअनुसार निःशुल्क र समावेशी शिक्षाको ग्यारेन्टी, सरकारसँग गरिएका विगतका सहमति र सम्झौता कार्यान्वयन तथा गुणस्तरीय शिक्षाका लागि पर्याप्त लगानी सुनिश्चित हुनुपर्ने मागसमेत महासंघले राखेको छ।

Comments (0)
Add Comment