काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक सांसद सूचीलाई लिएर विवाद चुलिँदै गएको छ। पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले समानुपातिक सूचीको शीर्ष स्थानमा आफ्नी पत्नी सरस्वती लामालाई राखेपछि पार्टीभित्र असन्तोष सतहमा आएको हो।
यस विषयमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले खुला रूपमा आपत्ति जनाउँदै नेतृत्वलाई सूची तुरुन्त सच्याउन दबाब दिएका छन्। पार्टी जोगाउने हो भने परिवार र पहुँचका आधारमा होइन, संघर्षशील र योगदान गरेका कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका शाहीले विगत लामो समयदेखि एउटै परिवारबाट सांसद बन्ने अभ्यासप्रति कडा असहमति व्यक्त गरेका छन्। २०६४ देखि २०७९ सम्म एउटै परिवारका चार जना सांसद भइसकेको उदाहरण दिँदै उनले यसलाई अन्यायपूर्ण र पार्टीको मूल मर्मविपरीत भनेका छन्।
उनले पार्टीबाट कारबाही भई साधारण सदस्यसमेत नरहेकी तथा पार्टीलाई कहिल्यै मतदान नगरेकी व्यक्तिलाई समानुपातिक सूचीको शीर्ष स्थानमा राख्नु गम्भीर त्रुटि भएको दाबी गरेका छन्। यस्तो प्रवृत्तिले पार्टी र देश दुवैलाई नोक्सान पुर्याउने चेतावनी पनि शाहीले दिएका छन्।
साथै, उनले नेतृत्व तहका नेताहरूलाई समानुपातिकको भर नपरी प्रत्यक्ष चुनाव लड्न तयार हुन चुनौती दिएका छन्। क्षमता र लोकप्रियता छ भने जनताबाटै मत लिएर चुनाव जित्नुपर्ने उनको स्पष्ट सन्देश छ।