शान्त र भयरहित निर्वाचनका लागि उपराष्ट्रपतिको अपिल

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै शान्त, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

२२ पुसमा जारी सन्देशमार्फत उपराष्ट्रपति यादवले निर्वाचन राष्ट्रिय दायित्व भएकाले समाजका सबै पक्षले संयम, सहिष्णुता र सद्भाव कायम राख्न आवश्यक रहेको उल्लेख गरेका छन्। पछिल्ला दिनहरूमा देशका केही स्थानमा देखिएका सम्प्रदायगत असमझदारी र द्वन्द्वले सामाजिक एकतालाई चुनौती दिएको भन्दै उनले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवले नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष, समावेशी र विविधतायुक्त राष्ट्रका रूपमा परिभाषित गरेको स्मरण गराउँदै विविधता नै नेपालको शक्ति भएको बताएका छन्। फरक–फरक धर्म, समुदाय र संस्कृतिमा आबद्ध भए पनि सबै नेपाली एउटै राष्ट्रिय परिवारका सदस्य भएको र आपसी विश्वास, सहअस्तित्व र भाइचाराले नै राष्ट्रिय पहिचान बनाएको उनको भनाइ छ।

उनले समाजमा फैलिने कुनै पनि प्रकारका अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। धार्मिक र सांस्कृतिक भिन्नतालाई विभाजनको कारण होइन, समृद्ध विविधताको रूपमा स्वीकार गर्दै संवाद, मेलमिलाप र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिएका छन्।

सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजले समन्वयात्मक रूपमा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण नै सबैको साझा लक्ष्य भएको बताएका छन्।

अन्त्यमा उपराष्ट्रपति यादवले नेपाललाई साझा फूलबारीको संज्ञा दिँदै यसलाई सुन्दर, सुरक्षित र सम्मानजनक बनाउन सबैको समान दायित्व रहेको उल्लेख गरेका छन्। मुलुकको समुन्नति र दिगो विकासका लागि दृढ संकल्पका साथ अघि बढ्न उनले सम्पूर्ण नागरिकलाई अपिल गरेका छन्।

Comments (0)
Add Comment