वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु

काठमाडौँ: घोराही उपमहानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले जानुभएका थापा २०८० माघको २६ गते सडक दुर्घटनामा परेर बित्नुभयो ।

घोराही उपमहानगरपालिका–१२ अवलधारा निवासी दिले वली बैदेशिक रोजगारीका क्रममा दुबई जानुभएको थियो । करिव चार वर्ष बैदेशिक रोजगारमा बसेर २०८० माघको १२ गते घर फर्किनुभएका वलीको केही समयपछि घरमै मृत्युभयो । घरका लागि आर्थिक जोहो गर्ने श्रीमानको मृत्यु भएपछि घर व्यवहार चलाउनसँगै बालबालिकालाई पठनपाठन गराउन समस्या भएको श्रीमती रामकली वली बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका–९ तेघरा निवासी शरदलाल चौधरी बैदेशिक रोजगारीका क्रममा दुबई जानुभयो । वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि दुई पुग्नुभएका चौधरीको २०८० असार महिनामा दुबईमा मृत्यु भएको सुरक्षित आप्रवासन सामी कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सुचना परामर्शकर्ता रीता लामाले जानकारी दिनुभएको छ ।

सूचना परामर्शकर्ता लामाका अनुसार आर्थिक वर्ष २०८०⁄०८१ मा दाङबाट वैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ । जसमा ४७ जना पुरुष र एक जना महिला रहनुभएको छ । परामर्शकर्ता लामाका अनुसार मृत्यु भएकामध्ये घोराही उपमहानगरपालिका निवासी १६ जना, तुलसीपुर उपमहानगरपालिका निवासी १२ जना, लमही नगरपालिका र बबई गाउँपालिका निवासी तीनतीन जना, शान्तिनगर गाउँपालिका निवासी दुई जना, दंगीशरण गाउँपालिका र राजपुर गाउँपालिका निवासी एकएक जना र दाङमा बसोवास गर्ने तर ठेगाना अन्य जिल्ला भएका दश जना छन् ।

मृत्युमा खाडी मुलक दुबई, मलेसिया, कुबेत, ओमनसँगै जापान लगायतका युरोपियन देशहरु रहेका छन् । उहाँका अनुसार बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई एक वर्षको अवधिमा चार करोड २४ लाख आठ सय ३३ रुपियाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

Comments (0)
Add Comment