विशाल लामालाई युवा संघको उपमहासचिवको जिम्मेवारी, नेतृत्व क्षमतामा विश्वास

काठमाडौँ :  नेकपा एकीकृत समाजवादी निकट युवा संघको सञ्जीव राई पक्षले नयाँ नेतृत्व संरचना सार्वजनिक गर्दै विशाल लामालाई उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जको महत्वपूर्ण जिम्मेवारी दिएको छ। लामाको सक्रियता, संगठन निर्माणमा देखाएको लगनशीलता र युवाहरूमाझको लोकप्रियतालाई आधार मानेर जिम्मेवारी दिइएको बताइएको छ।

सञ्जीव राई नेतृत्वको पक्षले मंगलबार जारी गरेको सर्कुलरमार्फत लामालाई यो जिम्मेवारी दिइएको हो। लामाले विगत लामो समयदेखि युवा संघभित्र संगठन विस्तार, नीति कार्यक्रम कार्यान्वयन र स्थानीयस्तरमा युवाहरूलाई जोड्ने काममा सक्रिय भूमिका खेलेका छन्।

पार्टीभित्र लामालाई निष्ठावान्, कर्मठ र युवामैत्री नेताका रूपमा चिनिन्छ। बागमती प्रदेशभित्र विभिन्न चुनौतीहरूबीच संगठनलाई मजबुत बनाउन लामाले निरन्तर काम गर्दै आएका छन्। युवा संघका साथीहरूले पनि उनलाई “समर्पित र कार्यदक्ष नेता” भन्दै प्रशंसा गर्ने गरेका छन्।

सञ्जीव राई पक्षले स्पष्ट रूपमा भनेको छ कि विशाल लामालाई जिम्मेवारी दिने निर्णय संगठनलाई बलियो बनाउन र युवामाझ नयाँ ऊर्जा भर्ने उद्देश्यसहित गरिएको हो। उनका निकटस्थ साथीहरूले अब संघमा लामाको नेतृत्व क्षमता अझ प्रस्ट रूपमा देखिने विश्वास व्यक्त गरेका छन्।

Comments (0)
Add Comment