काठमाण्डाै : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी दिनुभयाे । उहाँले सानोपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राईलाई स्वदेश फर्काउन निर्देशन दिएको बताउनुभयाे ।