काठमाडौं : अघिल्लो साता एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुने अवसर जुट्यो । कार्यशाला इन्टरनेसनल इन्सिच्युड अफ पीस एण्ड डेभलपमेन्ट स्टडीज (आइआइपीडीएस) ले थाइल्याण्डको बैङ्ककमा आयोजना गरेको थियो । जहाँ नेपालसहित भियतनाम, सिङ्गापुर, म्यानमार, इन्डोनोसिया, पाकिस्तान र बंगलादेशको प्रतिनिधित्व थियो ।
सेप्टेम्बर ७ देखि ९ सम्म तीन दिनको वर्कसपमा महिला नेतृत्व र मेलमिलापबारे बुझ्ने मौका मिल्यो । मौलिक नेतृत्व शैली र सञ्चार क्षमता, द्वन्द्व र लैङ्गिक आयाम र मेलमिलापबारे पनि जानकारी प्राप्त भयो ।
कार्यशालाको अन्तिम दिन हामीले समूहमा आफूले बुझेका कुराहरू सेयर गर्यौँ। आ–आफ्नो देशमा महिलाहरूको अवस्था, कानूनी प्रबन्ध, सामाजिक, राजनीतिक, र धार्मिक लगायत क्षेत्रमा महिलाहरूको उपस्थितिको अवस्थाबारे ब्रिफिङ गर्यौँ ।
नेपालबाट सहभागी हामीले सबैभन्दा पहिले नेपालको संविधानमा महिलाको अवस्थाबारे जानकारी दियौं । नेपालको कुल जनसंख्यामा ५१ प्रतिशत महिला रहेका, नेपालको सामाजिक संरचना पनि पितृसत्तात्मकबाट बदलिँदै गरेको, समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुषसरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिताको अपरिहार्यतालाई स्वीकार गर्दै राज्यसंयन्त्रमा महिलाको ३३ प्रतिशत सहभागीता ग्यारेन्टी गरिएको बतायौँ ।