वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ: पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारिसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । गगनेखोलामा ठूलो ढुंगासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ । बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए।

‘सबैभन्दा ठूलो ढुङ्गासहितको पहिरो गगनेखोलामा आएको छ । चार-पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा आएको छ । गगनेखोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ’, उनले भने ।

Comments (0)
Add Comment