वर्खा याममा धेरै कान पाक्छ कसरी बच्ने ?

काठमाडौँ:बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् सङ्क्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । बर्खायाममा मानिसहरू धेरै खेतबारीमा काम गर्ने गर्दछन् । याे समयमा धेरै वर्षासमेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका साथै गर्मी महिना भएकाले धेरै मानिसहरू पौडी खेल्नसमेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन् । योबाहेक पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । बर्खाको समयमा धेरै कानका समस्याहरू आउने गरेका छन् । बच्चाहरूले ठूलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको जाँच गर्नुपर्छ ।अधिकाशं मानिसले कान अत्याधिक मात्रामा चिलाउने वा दुख्ने ग¥यो भने नजिकको मेडिकलमा गएर औषधी किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वर्डले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रुपमा औषधी, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्याधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी वग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । नाक, कान, घाँटी विशेषज्ञलाई देखाएरमात्र औषधीको प्रयोग गर्नुपर्छ ।

यसबाट कसरी बच्ने ?

पौडी खेल्न जाँदा एयर प्लग लगाउने ।
पौडी खेल्दा कान छोप्ने ।
डाइफ भरसक नगर्ने ।
पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने ।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन धेरै भएमा चिकित्सकको सल्लाहबमोजिम उचित ढंगले हटाउनुपर्छ । वर्डले कानेगुजी हटाउँदैन । वर्डको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वर्डको प्रयोग नगर्नु राम्रो हुन्छ । कानेगुजी कानले आँफै सफा गर्छ । कानले कानेगुजी आँफै सफा हुने मेकानिज्म बनाएको हुन्छ । कानले जती कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आँफै फाल्छ ।

 

Comments (0)
Add Comment