काठमाडौँ: वडावडामै पुगेर बैंक खाता खोल्न रामपुर नगरपालिकाभित्र कारोबार गर्ने बैंक तथा रामपुर नगरपालिकाबीच सहमति भएको छ । पालिकाभित्रका बैंकहरूसँगको छलफल तथा अन्तर्क्रियापछि उनीहरू यस कुरामा सहमत भएका हुन् ।बैंकहरूले दिने सेवा र नगरपालिकासँगको समन्वयका सम्बन्धमा छलफल भएको हो । छलफलमा सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरूको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनका लागि सहमत भएका हुन् । रामपुर नगरपालिका–१ र १० मा कृषि विकास बैंक, वडा २ मा लक्ष्मी सनराइज बैंक, ३ मा मुक्तिनाथ विकास बैंक, ४ मा नेपाल एसबीआई बैंक, ५ मा गरिमा विकास बैंक, वडा ६ मा कामना सेवा विकास बैंक, ७ मा एनआईएमबी बैंक, ८ मा राष्ट्रिय वाणिज्य बैंक र ९ मा ग्लोबल आईएमई बैंक रामपुर शाखाले वडा कार्यालयमै गएर योजना उपभोक्ता समितिको खाता खोल्ने निर्णय भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले बताए ।रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्न हरेक वडामा पुगेर बैंकिङ सुविधा दिने निर्णय भएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । रामपुर नगरपालिकाभित्र ९ वटा बैंक र वित्तीय संस्था रहेका छन् । नगरवासीको सुविधाका लागि सबै वडामा पुगेर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिइनेछ । नगरपालिकाका सबै वडा कार्यालयमार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोलिने भएको नगर प्रमुख थापाले बताए ।
रामपुर नगरपालिकासँगको समन्वयमा घुम्ती सेवामार्फत नगरबासीहरूलाई सामाजिक सुरक्षाभत्ता वडा तथा टोलबाटै वितरण गरिने छ । कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले नगरपालिकाले जनताको सेवाका लागि जिम्मेवारी पूरा गर्ने बताए । रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिलबहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनु पर्ने सुझाव दिए । बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनले बताए ।