लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ:अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(क)बाट निर्वाचित चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरे। कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन आज दाबी पेश गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेका हुन्।चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा सङ्गठित भएका थिए । उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकाले उन बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध भएका हुन् ।

विसं २०४० मा अनेरास्ववियु जिल्ला कमिटी, अर्घाखाँचीको सदस्यमा निर्वाचित भएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनका क्रममा बुटवल गए र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष र जिल्ला कमिटी सदस्य भएका थिए । अर्घाखाँची फर्कीएपछि उन २०४६ सालमा इलाका कमिटी सदस्य, उपसचिव, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा ७ वर्ष काम गरे ।

विसं २०५४ को पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित भए । विसं २०५४ पछि चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखका रूपमा काम गरे । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट पराजित आचार्य विसं २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । विसं २०६९ मा भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित आचार्यले नौ वर्ष पार्टीको जिल्ला प्रमुखको रूपमा काम गरे ।

Comments (0)
Add Comment