काठमाडौँ: नेकपा(एमाले)का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले सगरमाथा घुम्न जाने पर्यटकहरुले यही विमानस्थलको प्रयोग गर्ने भन्दै उहाँले एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताउनु भयो । उहाँले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रुपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसारका पर्यटकहरु सगरमाथा घुम्न आउँछन् । तर एकमात्र हवाई यात्रा लुक्ला एयरपोर्ट छ । सानो एयरपोर्ट छ । फेरि फेरि दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति छ । पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ । गएको सालको बजेटले त्यसलाई समेट्न सकेन । अहिले मन्त्रीज्युले प्राथमिकतामा राखेको छु भन्नुभएको छ । प्राथमिकतामा मात्रै होइन उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ ।’
उहाँले सरकारले कृषि क्षेत्र र जलविद्युतको क्षेत्रलाई पनि प्राथमिता दिनुपर्ने बताउनु भयो ।