लमजुङमा भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत रोग न्यूनीकरण अभियान सुरु

काठमाडौँ : भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत जटिल रोगको जोखिम कम गर्न सकिने विश्वासका साथ लमजुङमा विशेष कार्यक्रम सम्पन्न भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय लमजुङको आयोजनामा सो कार्यक्रम सुन्दरबजार नगरपालिका–९ मा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य मधुकुमारी भट्टराईले भान्सासम्बन्धी सुधारका प्रयासहरू जनस्वास्थ्य सुधारको महत्वपूर्ण पाटो भएको बताइन्। उनले महिलाहरूलाई आफ्ना खाना पकाउने बानीमा सुधार ल्याउन र यस्ता कार्यक्रम गाउँ–गाउँमा विस्तार गर्नुपर्नेमा जोड दिइन्।

आयोजक संस्थाका प्रमुख डा. उत्सव पौडेलले “आरोग्यको आधार” अभियानअन्तर्गत सुन्दरबजार क्षेत्रका विभिन्न समुदायमा पोषणयुक्त खानपान, योग, ध्यान, र स्वस्थ आनीबानीका विषयमा जागरूकता फैलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले सहभागीहरूलाई स्थानीय जडीबुटीको परिचय, प्रयोग विधि र आयुर्वेदीय खानपान संस्कृतिबारे अवगत गराइएको बताए।

कार्यक्रममा डा. रोजिना पौडेलले पोषण र आहार विधिका बारेमा तथा वैद्य निरीक्षक प्रेम पौडेलले भान्सामा प्रयोग हुने जडीबुटीबारे जानकारी दिएका थिए।

उक्त अवसरमा औद्योगिक रूपमा उत्पादित खाना र निष्क्रिय जीवनशैलीका कारण देखा पर्ने जटिल र नसर्ने रोगहरूको जोखिमलाई कम गर्न, घरमै बनाइएको अर्गानिक खाना र योग अभ्यासको महत्वमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा सुन्दरबजारका विभिन्न वडाबाट महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधिहरू, पूर्व वडाध्यक्षलगायतको सक्रिय सहभागिता रहेको थियो।

Comments (0)
Add Comment