काठमाडौँ : निरन्तर वर्षाले अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की-ज्यूला, तथा जुम्ला–कालीकोटको सिमाना नजिक नाग्मा हुँदै मुगु जाने मार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय तथा स्थानीयको सहयोगमा आज बिहानदेखि पहिरो पन्छाउने काम तीव्र गतिमा गरिएको थियो। सोही प्रयासपछि दिउँसोदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो।
यसअघि, गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक खण्ड बन्द हुँदा यात्रुहरू समस्या भोगिरहेका थिए। अहिले खिड्की, ज्यूँला, गगने, बिहानी, नाग्मालगायत सबै ठाउँको अवरोध हटाइएकाले यातायात सहज बनेको प्रहरीले जनाएको छ।