मस्को — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, रुसले नयाँ नेतृत्व पाएको छ। राजधानी मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट सीताराम कट्टेल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।
खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल सन् २०१२ मा छात्रवृत्तिमा उच्च शिक्षाका लागि रुस आएका थिए। नेपालमै प्रारम्भिक तथा माध्यमिक शिक्षा पूरा गरेका उनी विद्यार्थी जीवनदेखि नै सक्रिय सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका छन्। उनले रुसमा रहँदा नेपाली विद्यार्थी संघको अध्यक्षको रूपमा नेतृत्व गरेका थिए।
उनको एनआरएनए यात्रा पनि कम प्रभावशाली छैन। दुई कार्यकालसम्म (२०१९–२०२३) एनआरएनए रुसको युवा संयोजक रहेर योगदान दिएका कट्टेलले हालैसम्म महासचिवको भूमिका पनि सम्हालेका थिए।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा अमितकुमार कर्ण र डा. प्रनिल प्रधान निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी प्रवीण खतिवडाले पाएका छन् भने, युवा संयोजकमा गिभ्सन ढकाल चयन भएका छन्। सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन्।
महिला संयोजकको भूमिकामा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ।
त्यस्तै, कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भएका छन्। यसपटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्का लागि डा. मनामूर्ति भुर्तेल चयन भएका छन्।
नयाँ कार्यसमितिले रुसस्थित नेपाली समुदायबीच थप एकता, सहकार्य र प्रवासी हितका कार्यक्रमहरू अघि बढाउने अपेक्षा गरिएको छ।