काठमाडौं: एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपअन्तर्गत बुधबार भएको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले तथा दोस्रो खेलमा बंगलादेशसँग सात विकेटले हार व्यहोरेको थियो। लगातार तीन खेलमा पराजित भएसँगै नेपाल समूह ‘बी’ को तालिकामा पुछारमा रह्यो। उक्त समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्दा नेपाललाई हराएको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ।
समूह ‘ए’ तर्फ भारतले तीनवटै खेल जित्दै ६ अंकसहित सेमिफाइनलमा स्थान बनाएको छ भने पाकिस्तान उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। यूएई र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन्।
दुबईस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरको खेलमा ४६.४ ओभरमै अलआउट हुँदै १२४ रन मात्र जोड्न सक्यो।
अघिल्ला खेलहरूकै निरन्तरतामा अफगानिस्तानविरुद्ध पनि नेपाली ब्याट्सम्यानहरू प्रभावहीन देखिए। कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ६८ बलमा चार चौका प्रहार गरे। तल्लोक्रमका चन्दन रामले ४० बलमा दुई छक्का र एक चौकाको मद्दतले २७ रन जोडे।
अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाए। ओपनर साहिल पटेल एक र निरज कुमार यादव आठ रनमै आउट भए। विकेटकिपर आशिष लुहार चार, कप्तान अशोक धामी पाँच र युवराज खत्री नौ रनमा पेभेलियन फर्किए। नितिस कुमार र विपिन शर्माले खाता खोल्न सकेनन्।
नेपालले अतिरिक्त रूपमा ६ रन पाएको थियो। अफगानिस्तानका बलर जैतुल्लाह शाहिनले तीन विकेट लिए भने वाहिदुल्लाह जदरान, नुरिस्तानी ओमरजाई र अब्दुल अजिजले दुई–दुई विकेट हात पारे।
१२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अफगानिस्तानको जितमा उजाइरुल्लाह निजाईले सर्वाधिक ६१ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५९ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
ओपनर ओस्मान सदातले ५१ बलमा तीन चौकासहित २८ रन बनाए भने अर्का ओपनर फैसल सिनोजादा १३ रनमा आउट भए। कप्तान महबुब खान ११ तथा अजिजुल्लाह मिखाइल पनि ११ रनमा अविजित रहे।
अफगानिस्तानले अतिरिक्त रूपमा एक रन पायो। नेपालका लागि अभिषेक तिवारीले दुई विकेट लिए भने विपिन शर्मा र चन्दन रामले एक–एक विकेट हात पारे।