यस वर्ष डेङ्गी संक्रमितको संख्या ६० हजार नाघ्न सक्ने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : देशभर यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने अनुमान गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो चेतावनी दिइएको हो।

कार्यक्रममा किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले आगामी साउनदेखि कात्तिक अन्तिमसम्म डेङ्गी संक्रमण तीव्र रूपमा फैलिन सक्ने भन्दै जनस्वास्थ्यका लागि उच्च जोखिमपूर्ण अवस्था आउनसक्ने बताएका छन्।

हालसम्म ७३ जिल्लामा करिब १,६०० जनामा संक्रमण पुष्टि भइसकेको छ। तर उनले यो संख्या अझ धेरै हुन सक्ने भन्दै, धेरै संक्रमितमा लक्षण नदेखिने, परीक्षण नगर्ने वा रिपोर्ट नआउने कारण आधिकारिक तथ्यांक कम देखिएको बताए।

डा. दाहालका अनुसार जोखिमको पूर्वानुमान गर्दै आवश्यक कार्ययोजना निर्माण तथा कार्यान्वयनको चरणमा प्रवेश भइसकेको छ। साथै, स्थानीय तहसँग सहकार्य गर्दै नियन्त्रण रणनीति अघि बढाइएको जानकारी पनि दिए।

उनले सबैलाई सचेत रहन र डेङ्गी नियन्त्रणमा स्थानीय सरकारको सक्रिय भूमिका अपरिहार्य रहेको स्पष्ट पारे।

Comments (0)
Add Comment