मुलुकमा प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छः दमननाथ ढुंगाना

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा प्रभावकारी प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले कम्युनिष्टहरुको बाहुल्यता हुनुभएको प्रजातन्त्र नभएको जिकिर पनि गर्नुभयो । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेस नेता समेत रहनुभएका ढुंगानाले प्रजातन्त्रको प्रजातान्त्रिक पार्टीको विकल्प प्रजातान्त्रिक पार्टीनै हुनुपर्ने तर्क गर्नुभयो । त्यसका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । ढुंगानाले काँग्रेसले बिपीको लाइनमा काम गर्न नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शैलजाले मन्त्री हुँदा चारैतिर भ्रष्टाचारको जालो छ भनिन् । त्यो सैह्य भएन । त्यो मान्य भएन । त्यो आफैलाई औँला देखाएजस्तो भयो । त्यसपछि २०५१ सालमा प्रतिपक्षको नेता हुन् सबैभन्दा योग्य पात्र थिइन । त्यो बराबरको कोही पात्र थिएन । उनलाई रोकियो । नेतृत्वबाटै रोकियो । जबकी विपीको उत्तराधिकारी पात्र भएको शैलजा मात्रै थिइन । विपीको लाइनमा हामीले काम गर्न सकेनौं । शैलजाको निराशाको कारण त्यही थियो । उनलाई प्रतिपक्षको नेता हुनबाट रोकियो । त्यहाँबाट उनका निराशा छायो । त्यसले उनलाई धेरै छिटो लग्यो पनि । आज पनि देशले प्रजातन्त्र खोजेको छ । प्रभावकारी प्रजातन्त्र । कम्युनिष्टहरुको बाहुल्य भएको प्रजातन्त्र होइन । प्रजातन्त्रमा प्रजातान्त्रिक पार्टीको विकल्प प्रजातान्त्रिक पार्टी नै हुनुपर्छ । त्यो जिम्मेवारी पनि हाम्रो हो । आज त्यस्तो बनाउन सकेनौं । त्यसको जिम्मेवारी हामीले लिनुपर्छ । प्रजातन्त्र चलाउने हो भने प्रजातन्त्रको विकल्प प्रजातान्त्रिक पार्टी नै हुनुपर्छ । त्यो नेपाली काँग्रेसले अग्रसरता लिएर, नेतृत्व लिएर बनाएपनि हुन्छ । त्यो बहुत जरुरी छ । ’

त्यस अवसरमा पूर्वसभामुख ढुंगानाले शैलजा आचार्यलाई विपीको सच्चा उत्तराधिकारीको रुपमा चित्रण गर्दै काँग्रेसले उनको व्यक्तित्व प्रस्फुटित हुन नदिएको गुनासो गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 

Comments (0)
Add Comment