मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) फेरि पनि समयमै पूरा हुन सकेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चौथो पटक म्याद थप्दै अब यो सडक असोज २५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदारलाई समय दिएको छ।
यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद सकिएको थियो। त्यसपछि बाँकी काम पूरा गर्न मन्त्रालयले फेरि समय थपेको हो।
पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर सडकमा चार लेनको कालोपत्र कार्य पूरा भइसकेको छ। इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएअनुसार, दमौली बजारमा सडक छ लेनमा विस्तार भएको छ भने अन्य भागमा चार लेनमै कालोपत्र सम्पन्न भएको छ। अधिकांश खण्डमा सडक रङरोगन पनि सकिएको छ।
उनले भने, “कालोपत्र सबै सकिएको छ, अब थोरै काम मात्र बाँकी छ। त्यसलाई पूरा गर्न थप समय मागिएको थियो, त्यसैले मन्त्रालयले असोज २५ गतेसम्म म्याद दिएको हो।”
यो सडक विस्तार योजना विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो। सम्झौता तीन वर्षको भए पनि काम तोकिएको समयमा पूरा हुन सकेन। पछिल्ला ४५६ दिनमा कालोपत्र कार्य पूरा भए पनि अन्य संरचनागत काम ढिलो भएको छ।
उक्त पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सन ले पाएको हो।
सडकको मूल रेखाङ्कन विसं २०२६ सालमै भएको थियो। तर, वर्षौंयता सवारी चाप अत्यधिक बढ्दै गएपछि यो खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको हो। यसका लागि एसियाली विकास बैंक (ADB) को ऋण सहयोग लिइएको छ।
पूर्वी खण्डको ठेक्का मूल्य रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको छ।