काठमाडौँ: मानवीय सभ्यता एकपछि अर्को समस्यामा परी रहेको छ। चार वर्ष अघि संसार कोरोना महामारीले आक्रान्त भएको थियो। त्यो महामारीबाट मुक्त हुन नपाउँदै फेरि अर्को समस्यामा अड्किएको छ। अहिले एम पक्स सङ्क्रमणका कारण अफ्रिका समस्यामा छ। केन्या त हट स्पट नै भइसकेको छ।
संसारमा भाइरल सङ्क्रमण साँच्चै खतरनाक हो। यसको फैलावट र सङ्क्रमण दरले विगतमा पनि मानिसले धेरै समस्या नभोगेका होइनन्। यसको मतलब यो होइन कि एम पक्सकै कारण हामी सबै आत्तिनै पर्छ। तर अहिले सचेत र सावधान हुन जरुरी भएको कुरा भने नकार्न मिल्दैन। विश्व स्वास्थ्य सङ्गठनले नै यसमा सावधानी अपनाउनु आवश्यक ठहर गरिसकेको छ।विश्व स्वास्थ्य सङ्गठनले संसारका कुनै पनि व्यक्ति यो भाइरससँग सङ्क्रमित हुनसक्ने सम्भावना रहेकाले विश्वव्यापी रूपमा आपत्काल लगाएको हो।
चार वर्ष अघि संसारलाई आतङ्कित बनाएको कोभिडको क्षति कसैले पनि बिर्सेको छैन। एकदमै छोटो समयमा नै सो महामारीले संसारमा फैलिएको थियो। अहिलेको चिन्ता संसारका धेरै जनसङ्ख्या भएका चीन, भारत र पाकिस्तानमा यो फैलियो भने एकदमै छोटो समयमा नै यसले गम्भीर समस्या र दुर्घटना ल्याउन सक्छ भन्ने हो।