काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चयन भइरहेका बेला अनेरास्ववियुका निवर्तमान अध्यक्ष डा. सुजन कडरिया भने प्रतिनिधि बन्नबाट रोकिएका छन्। जेन–जी आन्दोलनपछि फेसबुकमार्फत राजीनामा दिएर पछि फिर्ता लिएका उनको राजीनामा संगठनले नमान्दा उनले अखिल अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्दै महाधिवेशन प्रतिनिधि बन्ने अवसर पनि गुम्यो।
कडरियाले आफ्नो पार्टीको संगठित सदस्यता २०७१ सालदेखि रामेछापमै रहेको बताएका छन्। उनकै नेतृत्वमा अखिलको महाधिवेशन जितेका दीपक धामी, अञ्जना सिवाकोटी लगायत अन्य पदाधिकारीहरू भने यसपालि एमाले महाधिवेशनका प्रतिनिधिमा चयन भएका छन्।
तर उनी भने यसप्रति बेफिक्री देखिन्छन्। कडरियाले भने, “प्रतिनिधि छनोट हुने समयमै नेतृत्व हस्तान्तरणको काममा ध्यान दिएकोले मैले दाबी गरेको पनि छैन। राजनीति लामो यात्रा हो, हतारिनुपर्ने अवस्था छैन। अर्को महाधिवेशनमा पनि म ४० वर्ष मुनिको क्लस्टरमै पर्छु, त्यसबेला प्रतिनिधि र केन्द्रीय सदस्यका लागि तयारी गर्न सक्छु।”
उनले आफूले कुनै पनि पदमा अनिवार्य रूपमा रहिरहनुपर्छ भन्ने सोच नरहेको स्पष्ट पारे। कडरियाका अनुसार अहिले प्रतिनिधि हुनु भनेको या त आफू केन्द्रीय सदस्य बन्ने लक्ष्य राख्नु वा अर्को कसैलाई नेतृत्वमा उभ्याउने उद्देश्य राख्नु हो, जुन दुवैमा उनी संलग्न नभएको बताए।
यद्यपि एमाले स्रोतका अनुसार कडरियालाई शीर्ष नेतृत्वकै तहबाट महाधिवेशन प्रतिनिधिमा रोकिएको बताइन्छ।