काठमाडौं : सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार (मंसिर ८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव रहेका अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षको उमेर सीमा पुगेका कारण मंसिर १० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
बैठकले नेपाल प्रहरीका अतिरिक्त नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, युरोपियन युनियनद्वारा प्रस्तावित हरित ऊर्जा परियोजनाका लागि २५.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय भएको छ । साथै, भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड–२०७१ खारेज गर्दै त्यहाँको प्रतिवर्गमिटर भाडादर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।
नेपाल प्रहरी संरचनासम्बन्धी पद मिलान, दरबन्दी समायोजन तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको मन्त्री पुनले जानकारी दिए ।
‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका उपचार तथा सहयोगका लागि स्थापन गरिएको हेल्पडेस्कमा १० जना स्वयंसेवक चार महिनासम्म मासिक १५ हजार भत्तासहित खटाइने निर्णय भएको छ ।
सबैभन्दा महत्वपूर्ण निर्णयमा सरकारका तर्फबाट भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव रहेको छ ।