मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा जुट्यो सहमति

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक क्षेत्र नं २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा उक्त सहमति जुटेको हो ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत् गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।

कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किमी तार तान्न सकिरहेको थिएन । उक्त क्षेत्रमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा एक सय २४ जना जग्गाधनीको जग्गा पर्दछ ।

छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

Comments (0)
Add Comment