मधेस प्रदेशमा जुट्यो सहमति, जनमतका सतिशकुमारद्वारा मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौँ:मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गर्नुभएको छ ।

शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उहाँले दाबी पेश गर्नुभएको हो । उहाँले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको हो । १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । त्यस्तै संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् । दलहरुबीच सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) लाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) लाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिंचाई मन्त्रालय दिने सहमति भएको छ । जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । मुख्यमन्त्री सिंहले आज सवा १२ बजे शपथग्रहण गर्नुहुनेछ ।

 

Comments (0)
Add Comment