काठमाण्डाै: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने निष्कर्ष निकालेको हो ।
बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशङ्का भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी राजनीतिक दलहरूले गम्भीर त्रुटि गरिरहेको बताउनुभयो । पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धारणा राख्ने उहाँकाे भनाइ छ ।