काठमाडौँ : गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित लेन्दी खोलामा मंगलबार बिहान साँढे तीन बजे आएको भीषण बाढीमा वेपत्ता भएका सबै १८ जनाको पहिचान खुलेको छ। वेपत्तामध्ये तीनजना प्रहरी, छजना चिनियाँ नागरिक, तीनजना नेपाली गाडी चालक र अन्य नेपाली कामदार रहेका छन्।
रसुवागढी जलविद्युत् केन्द्रको ड्याम साइडबाट १ जना चिनियाँ नागरिक र १७ जना नेपाली गरी १८ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उद्धार गरेको छ। हालसम्म ५० जनालाई सुरक्षित उद्दार गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उद्धार गरिएकामध्ये चार महिला र ४६ जना पुरुष छन्।
बेपत्ता प्रहरीहरू इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेका छन्। उनीहरूमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन्।
चिनियाँ नागरिकहरूमा यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेका छन्।
नेपालका अन्य बेपत्ता व्यक्तिहरूमा
बर्दियाका जिपन चौधरी (३६ वर्ष)
सन्तोष दइत (३५ वर्ष)
बुद्धिराम थारू (२५ वर्ष)
लक्ष्मीनारायण थारू (२४ वर्ष)
सुरेश थारू (३० वर्ष)
बागलुङका नरेन्द्र विक,
सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान, र लोकमान तामाङ छन्।
लामा, मोक्तान र तामाङ गाडी चालक थिए।
बाढीले नेपाल–चीन सीमा क्षेत्र रसुवागढीस्थित मितेरी पुल बगाउँदा दुई देशबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डका १० स्थानमा क्षति पुगेको छ।
बाढीबाट रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) को बाँधमा, टिमुरेस्थित भन्सार यार्ड तथा त्यहाँ रहेका कन्टेनरहरूमा क्षति पुगेको छ। साथै, रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङस्थित नेपाली सेनाको पोष्ट अगाडि गल्छि–बेत्रावती–स्याफ्रुबेशी सडकखण्डमा रहेको बेलिब्रिज पनि बगाएको छ।
त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाको ड्याम र पासाङल्हामु राजमार्ग अन्तर्गतको सडक विभिन्न स्थानमा पूर्ण कटान हुँदा यातायात र उद्धारमा थप अवरोध आएको प्रशासनले जनाएको छ।
नुवाकोट र रसुवामा भएको क्षतिको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी कार्यालयले जनाएको छ।