काठमाडौँ: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरूको कुनै तुक नभएको बताएका छन् ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले गालीगलौजले देश नबन्ने बताए । उनले एमाले अध्यक्ष ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्टमात्र भएको टिप्पणी गरे ।
‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेष्ट हो । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भयो । गालीगलौजले देश बन्दैन ’, ज्ञवालीले भने, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौँ । देश बनाउने अभियानमा छौँ ।’
उनले ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज र अर्को पौने प्यारा अभियान चलाउँछु भन्ने कुनै छलफल गरिरहनुपर्ने विषय नलागेको पनि बताए ।