काठमाडौँ : फुटबल मैदानमा आफ्नो बलियो उपस्थिति देखाएका घानाका मिडफिल्डर थोमस पार्टे अहिले नयाँ क्लबसँग जोडिएका छन्—तर यसपटक कथा मैदानको भन्दा बाहिर बढी तातिएको छ।
३२ वर्षीय पार्टे स्पेनको ला लिगा क्लब भिल्लारियलमा आवद्ध भएका छन्। उनी हालै मात्र आर्सनलसँगको अनुबन्ध समाप्त भएपछि स्वतन्त्र खेलाडीको रूपमा स्पेन पुगेका हुन्। तर अनुबन्ध टुटेको केही दिनमै उनको नाम गम्भीर कानुनी मुद्दामा जोडियो।
पार्टेमाथि दुई महिलामाथि बलात्कारका पाँच आरोप र एक महिलामाथि यौन दुर्व्यवहारको एक आरोप लागेको छ। उनले यी सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।
वेस्टमिन्स्टर म्याजिस्ट्रेट कोर्टले उनलाई केही सर्तसहित जमानत दिएको छ। ती सर्तमा पीडित भनिएका महिलासँग कुनै सम्पर्क नगर्नु, र आफ्नो ठेगाना वा अन्तर्राष्ट्रिय यात्रा परिवर्तन भएमा तत्काल प्रहरीलाई जानकारी दिन पर्छ।
भिल्लारियलले विज्ञप्ति जारी गर्दै भनेको छ:
“हामीलाई थाहा छ, खेलाडी हाल इङ्ल्यान्डमा कानुनी प्रक्रियामा संलग्न छन्। उनी सबै आरोप अस्वीकार गर्दै निर्दोष रहेको बताउँछन्। क्लब ‘निर्दोष मानिने अधिकार’को सिद्धान्तलाई सम्मान गर्दछ र कानुनी प्रक्रियाको अन्तिम नतिजाको प्रतीक्षा गर्दछ।”
क्लबले थप स्पष्ट पारेको छ कि, इङ्ल्यान्डको कानुन अनुसार प्रक्रिया चलिरहँदा थप टिप्पणी गर्न उनीहरू असमर्थ छन्। साथै, लिङ्गीय हिंसा, विभेद, जातिवाद, घृणा वा गरिमामाथिको आक्रमणको कडा विरोध गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
भिल्लारियलमा पार्टेको हस्ताक्षरपछि करिब १,००० समर्थकले एउटा अनलाइन पेटिशनमार्फत विरोध जनाएका छन्। उनीहरूको माग क्लबले यस्ता आरोप खेपिरहेका खेलाडीलाई अनुबन्ध नगर्नु।
यो शुक्रबारदेखि भिल्लारियलको प्रशिक्षणमा सहभागी हुनेछन्। तर, सेप्टेम्बर २ मा उनलाई लन्डनस्थित ओल्ड बेली अदालतमा पेश गरिनेछ।
यसैबीच, भिल्लारियलले हालै आर्सनलविरुद्धको मैत्रीपूर्ण खेलमा ३–२ को जित हात पारेको थियो। तर यो ट्रान्सफरको चर्चा अहिले खेलको नतिजाभन्दा धेरै ठूलो छ।