भारतको केदारनाथ यात्रामा नेपालीहरुको जात्रा

काठमाडौँ: म भारतको चार धाम यात्रामा निस्किएको थिएँ । चार धाममध्ये केदारनाथ धाम मेरो लागि विशेष रहन गयो । किनकि मैले त्यहाँ नेपालीहरुको हातबाटै काम लिई आफ्नो यात्रा सफल गरेँ । नेपालीहरु मागेर खाँदैनन्, काम गरेर खान्छन्, त्यो पनि इमानदारिताका साथ । त्यो कुरा मैले केदारनाथमा देखेँ । केदारनाथमा जाँदा मलाई त नेपालको कुनै प्रसिद्ध धार्मिक यात्रामा गएको जस्तो लाग्यो ।

पहाडी बस्ती, ठ्याक्कै नेपालको जस्तो भौगोलिक अवस्था । त्यसमाथि त्यहाँ बस्ने भारतीयहरुको भेषभूषा, चालचलन, अनुहार, हाउभाउ ठ्याक्कै नेपालीको जस्तो लाग्यो । विवाहवारी पनि नेपालीसँग हुँदो रहेछ । मैले यात्राको दौरानमा चिसोबाट बच्न ज्याकेट किन्न गएको त होटल साहुजीले आफ्नी श्रीमती नेपाली हो भनी चिनाउनुभयो ।

केदारनाथमा बाटोभरि नेपालीहरु देखेँ । प्रायःको टाउको ढाका टोपीले सजिएको थियो । कोही घोडा चढाएर तीर्थयात्री लाने, कोही डोकोमा मान्छे राखेर, जसलाई बस्किट भन्दा रहेछन् । तीर्थयात्रीहरुलाई धन्य छ, नेपालीहरु त्यहाँसम्म गएर आफ्नो पसिना बगाएका छन् । हामी तीर्थयात्री भारी नबोकी जान त गाह्रो भएको ठाउँमा मान्छे बोकेर लानु भनेको चानचुने काम पक्कै होइन । कोही डोलीजस्तो बनाएर चारजनाले बोकेर लाने गर्दा रहेछन् । मान्छे ओसार्ने काममा मेरो हिसाबमा ८० प्रतिशत नेपाली नै थिए । उनीहरु ६ महिना केदारनाथमा काम गरेर बाँकी ६ महिना नेपालमा आफ्नो जन्मभूमिमा काम गर्ने रहेछन् ।

नेपालीहरु जहाँ भए पनि आफ्नो इमान–जमान बेच्दैनन् भन्ने आभास केदारनाथ यात्रामा म आफू स्वयंले अनुभव गर्न पाएँ । म र मेरी श्रीमती केदारनाथ यात्रामा २२ किलोमिटरमा ६ किलोमिटर चढ्नासाथ अगाडि बढ्न सकेनौं । त्यसपछि भारतीयहरुलाई भनेर दुईवटा घोडाको ५ हजार ५ सयमा बुक गरी लग्यौँ । तर हामीलाई धोका दिएर दुई घोडा हेर्न एकजना मान्छेको भरमा घोडाको यात्रा गर्न विवश बनाइयो । त्यो एकजनाले मेरो घोडा समातेको बेला श्रीमती चढेको घोडा कहिले फलामको बारमा त कहिले अरु घोडामा बस्ने मान्छेसँग ठक्कर खान पुग्थ्यो । हामीले गुनासो गरेपछि फेरि श्रीमतीको घोडा समात्न पुग्थ्यो । त्यस बेला मेरो खुट्टाले घरी फलामको बारमा घरी अर्को घोडासँग ठक्कर लाग्ने गथ्र्यो । यसरी एकजना मान्छेले दुईवटा घोडा नियन्त्रण गर्न गाह्रो भएकाले झन्डै दुर्घटनामा परेको । बीचबाटोमा नै रु. ५० दिई हामीले ती घोडालाई छोड्नुपर्‍यो । यसरी एउटा घोडालाई एकजना व्यक्ति अनिवार्य भएको ठाउँमा दुईवटा घोडाका लागि एकजना खटाएर हामीलाई धोका दिइयो । हामीले धेरैपल्ट भनेका पनि थियौँ तर मानेन । बेकारमा लठ्ठीको १०० र घोडा चढेकोमा ५० गरी थप १५० भारु तिर्नुपर्‍यो ।

Comments (0)
Add Comment