काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक–२०२५’ मा सहभागी हुन भारतमा रहेका मन्त्री खड्काले बिहीबार श्रमशक्ति भवनमा पाटिलसँग भेट गरेका हुन्।
भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो सम्पन्न गरी आयोजना अघि बढाउने सहमति भएको छ। टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको र यसको सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने विषयमा पनि सहमति भएको छ।
बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको छ। सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा दुई पक्षीय बैठकमार्फत छलफल अघि बढाउने सहमति पनि भएको छ।
मन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटले दुई देशको सहकार्यमा जलस्रोत क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे। मन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई छिटो अन्तिम रूप दिन र आयोजनालाई चाँडो अघि बढाउन भारत सरकार सकारात्मक रहेको बताए।
भेटमा मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत नेपाली टोली र भारतीय उच्च अधिकारीहरूको सहभागिता थियो।