भाटभटेनी सुपरमार्केटका २१ शाखा क्षतिग्रस्त, अर्बौँको क्षति

काठमाडौं : देशकै सबैभन्दा ठूलो र व्यापक रूपमा फैलिएको खुद्रा व्यापार चेन भाटभटेनी सुपरमार्केट हालैको जेन्जी आन्दोलनको लहरमा ठूलो क्षति बेहोर्न बाध्य भएको छ।

स्रोतका अनुसार, २८ शाखामध्ये २१ शाखामा प्रत्यक्ष असर पुगेको छ। तीमध्ये १२ शाखा पूर्णरूपमा जलेर खरानी भएका छन् भने अन्य ९ शाखामा लुटपाट र तोडफोड भएको छ।

भाटभटेनी केवल एउटा सुपरमार्केट मात्र होइन, देशलाई कर तिर्ने प्रमुख व्यवसायिक संस्था पनि हो। शाखाहरू नष्ट हुँदा कम्पनीले अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति गुमाएको छ।
यससँगै हजारौं कर्मचारीले रोजगारी गुमाएका छन्, जसका कारण सयौं परिवारको दैनिक जीवन संकटमा परेको छ। “दैनिक खर्च टार्नै गाह्रो भएको छ,” प्रभावित एक कर्मचारीले भावुक हुँदै बताए।

भदौ २३ गते सोमबार जेन्जी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि आन्दोलन उग्र बनेको थियो। त्यसपछि आक्रोशित भिडले व्यवसायीलाई लक्षित गर्दै तोडफोड र आगजनी सुरु गरेको हो।
यही क्रममा मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट आन्दोलनको प्रत्यक्ष निसाना बन्यो।

  • उपत्यका बाहिर : बिर्तामोड, दमक, विराटनगर, धरान, हेटौंडा, पोखरा, भरतपुर

  • उपत्यकाभित्र : बालुवाटारको मुख्य गोदाम, टंगाल, महाराजगञ्ज, कोटेश्वर, बौद्ध चुच्चेपाटी

यी सबै शाखामा केवल सामान मात्र होइन, भवनसमेत पूर्णरूपमा नष्ट भएको छ।

टोखा, सातदोबाटो, अनामनगर, सानोगाउँ, वल्ड ट्रेड सेन्टर, पाटन र नेपालगञ्जस्थित शाखाहरू भने सुरक्षित रहेका छन्।
तोडफोड मात्र भएका केही शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन्।


Comments (0)
Add Comment