काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्राडा चन्दा कार्कीले बैंकर र व्यवसायी छुट्याउने विषयलाई स्वागतयोग्य भनेकी छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको सन्दर्भमा सांसदहरूसँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरिन्।
उनका अनुसार बैंकर र व्यवसायीबीच छुट्याउने स्पष्ट व्यवस्था नभए ठूलो स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्छ। परियोजनामा आधारित कर्जा लगानीको व्यवस्था हाल वाणिज्य बैंकमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले विकास बैंक र फाइनान्स कम्पनीहरूलाई पनि त्यस्तो लगानी गर्न अनुमति दिनुपर्ने बताइन्।
बैंकसँग नजिक रहेका व्यक्तिलाई कर्जा दिन नपाउने व्यवस्था उचित भएको भन्दै सांसद कार्कीले ‘सम्बद्ध व्यक्ति’ को परिभाषा स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, सञ्चालकको कार्यकाल र योग्यता पनि उपयुक्त हुनुपर्ने उनको धारणा छ। कर्जा सदुपयोग अनुगमन अवधि ६ महिनाको सट्टा त्रैमासिक हुनुपर्ने सुझाव पनि उनले दिएकी छन्।