काठमाडौँ: बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् ।
पहिले धान, मकै, गहुँ र तोरीजस्ता परम्परागत बाली लगाउँदै आउनुभएका मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत चार वर्षदेखि बेसार खेती गर्न थाल्नुभएकाे छ । धान, मकै, गहुँ र तोरीजस्ता बाली भित्र्याउने बेलामा वन्यजन्तुले ठुलो क्षति पुर्याउने गरेकोले वैकल्पिक खेतीतर्फ लाग्नुपरेको सुनारले बताउनुभयो । पहिले एक क्विन्टल अन्नबाली भित्र्याउनसमेत गाह्रो हुने गरेको सुनाउँदै उहाँले हात्ती, गैँडाजस्ता वन्यजन्तुले खेतमा पस्दा अन्नबाली पूरै नष्ट गरिदिने गरेको बताउनुभयो ।
तर बेसार वन्यजन्तुले नखाने भएकाले अहिले क्षति पनि नभएको र राम्रो आम्दानीसमेत हुन थालेको सुनारको भनाइ छ । उहाँका अनुसार हात्ती र गैँडाजस्ता जनावरले खेत कुल्चिए पनि बेसार नोक्सान हुँदैन ।
मधुवनकै अर्का किसान नरेश चौधरी पनि अहिले बेसार खेतीमा रमाइरहनुभएको छ । वन्यजन्तुको डर बिना खेती गर्न पाउँदा धेरै सजिलो भएको जनाउँदै उहाँले बेसारबाट राम्रै आम्दानी गर्न सकिएको बताउनुभयो । खेतीमा लाग्ने खर्च पनि कम हुँदा परम्परागत अन्नबालीले भन्दा बेसारले बढी आर्थिक फाइदा दिन थालेको चौधरीको भनाइ छ ।