काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खेल मैदान निर्माणको क्रममा रकम हिनामिना गरिएको आरोपमा आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
आरोपपत्रअनुसार गाउँपालिकाकै तत्कालीन सब–इन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हर्कदेव जोशी, वडा नं. १ स्थित बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा तथा कोषाध्यक्ष निलम भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार बित्थडचिर गाउँपालिका–१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणका क्रममा ठेकेदारले तत्कालीन गाउँपालिका अध्यक्षसँग मिलेमतो गरी काम गर्दा १४ लाख ६६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरिएको आरोप लगाइएको छ।
उक्त प्रकरणमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी राज्यलाई आर्थिक क्षति पुर्याएको ठहर गर्दै आयोगले कानुनी कारबाही अगाडि बढाएको जनाएको छ।