काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै राजावादी प्रदर्शनमा संलग्न नेताहरूको गिरफ्तारीको विरोधमा काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै “सरकार मुर्दावाद” र “हाम्रा नेता रिहाई गर” जस्ता नारा लगाएका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको शान्तिपूर्ण भेला हुने अधिकार कुण्ठित गर्ने कार्यको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार, यो प्रदर्शन सरकारी निरङ्कुशताको विरुद्धमा गरिएको प्रतीकात्मक र शान्तिपूर्ण विरोध हो।
यसैबीच, गृह मन्त्रालयले राप्रपाको निषेधित क्षेत्र तोड्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले संविधान र कानुनको उल्लंघन गर्ने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।