बाजुरा, असार १५ गते । बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रुपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्य रुपमा मनाएका हुन् ।
जिल्लाको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका पालिकाले भव्यरुपमा धान दिवस मनाएका छन् । पालिकाकै आयोजनामा जनप्रतिनिधि कर्मचारी लगायतले किसानको खेतमा पुगेर यो वर्षको धान दिवसलाई हर्ष र उल्लासका साथ मनाएका हुन् ।
२०८१ को राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पहिले भन्दा यो वर्ष विशेष रुपमा मनाएको स्वामिकार्तिक खापर गाउँपालिकामा अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको धान दिवसमा प्राय स्थानीय धानलाई बढी प्राथमिकता दिने गरी धान दिवस मनाइएको छ । ”
मानव स्वास्थ्यका लागि निकै फाइदाजनक रहेकाले यहाँका स्थानीयलाई यो वर्षको धान दिवसमा स्थानीय धान उत्पादनमा बढी उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्षमा धान दिवस मनाउने गरेको भएपनि यो वर्ष यहाँका स्थानीयलाई स्थानीय अर्गानिक धान रोपाई गर्ने चेतनामुलक सन्देशका साथ धान दिवस भव्य रुपमा मनाइएको छ। ”
जमिनमा अग्रानिक मल र बिउँमा स्थानीय जातको धान रोपाई गर्ने सन्देशका साथ यो वर्षको धान दिवस तथा रोपाइँ महत्सव भव्यरुपमा मनाएको बुढाले बताउनुभयो ।