काठमाडौँ: फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई कापी कलम लगायत शैक्षिक सामग्री वितरण गरिइएको हो ।बजार सफा बनाउनुका साथै त्यसबाट संकलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताए।
‘हाम्रो सरसफाइ अभियान एक सय ६४औं हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘यही क्रममा भेटिएका पानीका बोत्तललाई संकलन गरेर यस्तै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौं।’
सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई कपी–कलम सहयोग गरिएको हो।
त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन्। धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए।