प्रहरी सुधारका चार प्रतिवद्धता : गृहमन्त्री गुरुङका घोषणा कति कार्यान्वयनयोग्य ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयमा दिएको सम्बोधन यतिबेला व्यापक चासोको विषय बनेको छ। निरीक्षणका क्रममा उनले प्रहरी संगठनका समस्या सुन्ने मात्र होइन, केही महत्त्वपूर्ण सुधारका घोषणा समेत गरेका छन्, जसले प्रहरीभित्र आशा र उत्साह दुबै जगाएको देखिन्छ।

गुरुङले सबैभन्दा पहिले प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रदान गरिने दर्ज्यानी चिन्हसम्बन्धी पुरानो अभ्यास परिवर्तन गर्ने संकेत दिए। विगतमा सचिवबाट प्रदान गरिँदै आएको उक्त चिन्ह अब प्रधानमन्त्रीको हातबाट लगाइने व्यवस्था मिलाइने उनले बताए। यसका लागि आफूले व्यक्तिगत रूपमा प्रधानमन्त्रीलाई विश्वस्त पार्ने प्रतिबद्धता पनि जनाए। प्रहरी संगठनले लामो समयदेखि उठाउँदै आएको यो माग सम्बोधन हुने संकेतलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

त्यसैगरी, उनले प्रहरीको पोशाक उत्पादनलाई स्वदेशमै केन्द्रित गर्ने योजना अघि सारे। विदेशी कपडामा निर्भर रहनु पर्ने अवस्थाको अन्त्य गर्दै देशभित्रै कारखाना स्थापना गरी पोशाक उत्पादन गरिने उनले बताए। यसले रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।

गृहमन्त्रीले प्रहरीको रासन भत्ता वृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन्। फिल्डमा खटिने सुरक्षाकर्मीको जीवनस्तर सुधार गर्न आवश्यक स्रोतसाधन सुनिश्चित गरिने उनको भनाइ छ। साथै, आधुनिक प्रविधिमा आधारित ‘मोडर्न पुलिसिङ’ प्रणाली लागू गर्ने योजना पनि उनले अघि सारे। अबका दिनमा प्रत्येक प्रहरीसँग दंगा नियन्त्रणका लागि आवश्यक उपकरण, सिल्ड लगायतका साधन उपलब्ध गराइने र ड्रोनमार्फत अश्रुग्यास प्रयोग गर्ने प्रविधिसमेत अपनाइने उनले उल्लेख गरे।

प्रहरीको वर्तमान अवस्थाबारे बोल्दै गुरुङले केही कटु यथार्थ पनि उजागर गरे। उनका अनुसार विदेशमा प्रहरीको पोशाक र उपकरणले नै प्रभाव पार्ने अवस्था हुन्छ, तर नेपालमा भने च्यातिएका बुट र उध्रिएका पोशाकमा प्रहरी खटिनु पर्ने अवस्था छ। यस्तो अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्‍याए।

सरुवा र बढुवामा हुने राजनीतिक हस्तक्षेपप्रति पनि उनले कडा रुख प्रस्तुत गरे। समस्या समाधानका लागि आफू तयार रहेको बताउँदै उनले व्यक्तिगत स्वार्थका लागि दबाब दिन नआउन प्रहरी अधिकृतलाई चेतावनी दिए।

यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले व्यक्त गरेको भावनात्मक भनाइले कार्यक्रममा उपस्थित सबैलाई गम्भीर बनायो। उनले प्रहरीको पोशाकको अवस्था दयनीय रहेको उल्लेख गर्दै कम्तीमा सामान्य सुरक्षाकर्मीको भन्दा राम्रो पोशाक हुनुपर्ने धारणा राखे। उनको भनाइले प्रहरी संगठनको वास्तविक समस्या सतहमा ल्याएको देखिन्छ।

कार्यक्रमको अन्त्यतिर कार्कीको अभिव्यक्तिपछि केहीबेर हलमा सन्नाटा छायो। त्यसपछि गृहमन्त्री गुरुङ स्वयं उठेर ताली बजाउँदै अन्यलाई पनि साथ दिन आग्रह गरे, जसले कार्यक्रमलाई भावनात्मक मोडमा पुर्‍यायो।

गृहमन्त्रीका यी घोषणा सुन्दा आकर्षक र आशावादी देखिए पनि अबको मुख्य प्रश्न भनेको ती कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने हो। प्रहरी सुधारका यी योजनाहरू व्यवहारमा उतारिए मात्र यसको वास्तविक परिणाम देखिनेछ।

Comments (0)
Add Comment