प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटवार्तामा भारत र चीनबीच भएको लिपुलेक सम्झौता नेपालको स्वामित्वविपरीत रहेको भन्दै प्रष्ट आपत्ति जनाएका छन्।

बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, आजै भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटमा ओलीले लिपुलेक नेपालको भूभाग भएको तथ्य पुनः स्मरण गराएका थिए। उनले भारत र चीनबीच भएको सम्झौता नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि आघात पुर्‍याउने किसिमको भएकाले नेपाल त्यसबारे असन्तुष्ट रहेको स्पष्ट बताएका छन्

प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन्। उनको बेइजिङ आगमनमा उच्चस्तरीय स्वागत गरिएको थियो। विमानस्थलमा नै विशेष सम्मान गरिएको थियो भने चीनले ओलीको भ्रमणलाई “मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत गर्ने अवसर”का रूपमा चित्रण गरेको छ।

लिपुलेक पास नेपालको कालापानी क्षेत्रसँग जोडिएको भूभाग हो, जुन लामो समयदेखि नेपाल–भारत सीमा विवादको केन्द्रीय बिन्दु बनेको छ। २०१५ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सम्झौता भएपछि नेपालले निरन्तर आपत्ति जनाउँदै आएको छ। नेपालले यसलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेपका रूपमा लिएको छ।

यस भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। तर, लिपुलेक विषयलाई खुलेर उठान गर्नु ओलीको चीन भ्रमणकै प्रमुख उपलब्धि मानिएको छ।

Comments (0)
Add Comment