काठमाडौँ: नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताउनुभएको छ ।
मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको बताउनु भयो । उहाँले एक पटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । मिसन ०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो मौलिक हकमा व्यवस्था छ, मौलिक हकको भग ३ को धारा १६ देखि ४८ सम्म मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हक संविधानमा लेख्ने बेला भावनामा ज्यादा बग्यौँ की त्यसलाई कर्तव्यमा पालना गर्न सकेनौँ की ? अहिले मौलिक हकको कारणले संविधान कतै कागजको खोष्टो नहोस् । तसर्थ अझ पनि समय केही गरी कति कुरा हामी गर्नसक्छौँ त्यति नै कुरामा प्रतिवद्धता गर्ने बानी बसालाँै । हामीले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएका छौँ । कहीँ बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेका त छैनौँ । सोचौँ एक पटक सर्वदलीय सरकारको गठन गरेर । संविधान संशोधन गरौँ । हाम्रो आवश्यकता प्रदेश हो की होइन । दिनहुँ सरकार फेरबदल भइरहेको छ, यसमा पनि ध्यान दिऔँ ।’
सांसद मिश्रले ठूला नेताहरुको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नेपाल वायुसेवा निगम पब्लिक प्राइभेटमा लैजान जरुरी रहेको बताउनु भयो ।