काठमाडौँ : पाँच दिनअघि बढेको अन्डाको मूल्य भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।
अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।
यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो ।
यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।
यस अघि भदौँ ८ गते शनिबार माग बढेको भन्दै अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरिएको थियो । त्यस समयमा ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको थियो ।